उदयपुर । उदयपुरको कटारी नगरपालिका ५ मा निर्माण भएको प्राकृतिक श्रोत ब्यबस्थापन कलेजको शैक्षिक भवन निर्धारित समय भन्दा ५ महिना अघि नै सम्पन्न भएको छ ।
कृषि तथा वन बिज्ञान विश्वविद्यालय वन बिज्ञान संकाय मार्फत ६ करोड ४९ लाख ४ हजारमा २०८० वैशाख २६ मा सम्झौता भएको शैक्षिक भवन निर्माण कम्पनीले ५ महिना अघि काम सम्पन्न गरेको हो ।
१८ महिना भित्र निर्माण सम्पन्न गरिसक्ने जिम्मा पाएको कामख्या कन्टक्सन प्रालिले कलेजको १२ कोठाको ३ तले भवन ५ महिना अघि सम्पन्न गरेर उदाहरणको पात्र बनेको हो । निर्माण समय भन्दा ५ महिना अगाडिनै भवन निर्माण सम्पन्न गरेकोमा निमित्त क्याम्पस प्रमुख राजीव जोशीले निर्माण कम्पनीलाई धन्यवाद व्यक्त गरे ।
क्याम्पसको आफ्नै भवन नहुँदा बर्षौ देखी उदयश्री क्याम्पसको भवनमा पठनपाठन हुँदै आएको थियो । नयाँ भवन निर्माण भए संगै विद्यार्थीहरुले अत्याधुनिक भवनमा अध्ययन गर्न पाउने भएका छन् ।