शुक्रबार सर्लाहीको बरहथवा नगरपालिकामा स्वास्थ्य चौकी स्तरोन्नतिको विषयलाई लिएर भएको झडप नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यु जारी गरेको छ ।
प्रशासनले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरेर कर्फ्यु जारी गरेको बताएको छ । प्रशासनका अनुसार बरहथवा नगरक्षेत्रभित्र भोली बिहान ८ बजेसम्मका लागि कर्फ्यु जारी गरेको बताएको छ ।
'बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न एवम् अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी आज मिति २०८०।०९।२० गते बेलुका ५ः३० बजे देखी भोली मिति २०८०।०९।२१ गते बिहान ८:०० बजे सम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० ९१० ९३० बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ ।', प्रशासनले भनेकाे छ ।
नगरपालिकामा रहेको नगर अस्पताललाई प्रदेश मातहत राख्ने नराख्ने विषयमा विवाद सिर्जना हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो । शाहको टाउको गोली लागि घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस्तै झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीका कारण एकजनालाई खुटामा गोली लागेर गम्भीर घाइते भएको बताइएको छ अर्का एक प्रदशर्नकारी समेत घाइते भएका छन् । दोहोरो झडपका क्रममा ६ जना प्रहरी समेत घाइते भएका छन् ।
नगरपालिकामा रहेको नगर अस्पताललाई प्रदेश मातहत गर्ने कि नगर्ने भन्ने विषयमा भएको विवाद समाधान गर्न बसेको सर्वदलिय बैठकमा झनै विवाद सिर्जना भएपछि झडप सुरु भएको हो । विवाद बढेपछि नगरपालिकाले सूचना जारी गर्दै बैठक स्थगित गरेसँगै नगरपालिका भवनमाथि तोडफोड भएको थियो ।
त्यस्तै प्रदर्शनकारीले नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवालको घर र गाडीमा समेत तोडफोड गरेका थिए ।