काठमाडौँ । अब नागरिकले आफ्ना समस्या सिधै गृहमन्त्रीलाई भन्न पाउने भएका छन् । उप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृहको कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै त्यसबारे जानकारी गराइएको हो ।
अब गृह मन्त्रालयको वेबसाइटमा वा जिल्ला प्रशासन कार्यालयहरुको वेभसाइटमा राखिएको क्यूआर कोड मार्फत सिधै गृहमन्त्रीलाई आफ्ना समस्या राख्न पाइने भएको हो । वेबसाइटमा राखिएको क्यूआर कोड स्क्यान गर्दा आउने ‘गृहमन्त्रीलाई भन्नुस्’ फारममार्फत गृह मन्त्रालय अन्तर्गतका निकायले प्रभावकारी रुपमा काम गरेनन् भने सोझै गृहमन्त्रीले थाहा पाउनेगरी गुनासो राख्न सकिने गृहमन्त्रीले बताएका छन् ।
त्यस्तै नागरिकका लागि सिंहदरबार प्रवेश सहज गर्न आज (जेठ ३२ गते) बाटै (इ–गेट) प्रणाली आरम्भ पनि लामिछानेले जानकारी गराए । अब गृह मन्त्रालयको वेबसाइटबाट घरबाटै सिंहदरबार प्रवेशको पास लिन सकिनेछ ।