काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित सुकुम्बासी टोलमा लागुऔषध कारोबार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । टोलमा लागुऔषध कारोबार भएको सूचनापश्चात खन्तलासी गर्न पुगेको प्रहरीले लागुऔषध र नगदसहित उनीहरुलाई प्रकाउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका ६ चितवन घर भई सिनामंगल बस्ने ५१ वर्षीया लक्ष्मी परियार, घनगढी उपमहानगरपालिका १२ घर भई सिनामंलग बस्ने इन्द्र बहादुर साउँद, दोलखा घर भई सिनामंगल बस्ने सृजना विक र सिनामंगलमै बसोबास गर्दै आएकी मिना बस्नेत रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट नुरफिन २४ एम्पुल, डाइजापाम ९५ एम्पुल, फेनरागन ४७ एम्पुल, पोल्याण्ड एक केजी ९८० ग्रामसहित ४ लाख १६ हजार ३ सय ५० रुपैँया नगद, ८ थान मोबाइल, १ थान ल्याप्टप र १ थान पावर बैंक बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिउपर लागुऔषध सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी नवराज अधिकारीले बताए ।