काठमाडौं । सिरियामा विद्रोही समूहले प्रमुख शहर कब्जा गरेपछि सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन् । विद्रोही समूहहयात तहरिर अल शाम (एचटीएएस) का कमाण्डरहरुले राजधानी दमिस्क असादको शासनबाट मुक्त भएको घोषणा गरेका छन् । रोयटसका अनुसार राष्ट्रपति बसर अल असादले राजधानी छाडेपनि कहाँ गए भन्ने खुलाइएको छैन ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले राजधानी दमिस्कबाट एउटा निजी विमान उडेको र त्यसमा राष्ट्रपति बशर अल असद हुनसक्ने जनाएको छ ।
विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) ले आफ्नो टेलिग्राम च्यानलमार्फत् बशर अल असादले देश छोडेको र सिरिया अब स्वतन्त्र भएको बताएको छ । उनीहरुले एउटा कालो अध्याय अन्त्य भएर नयाँ शुरुवात भएको घोषणा गरेका छन् ।
सिरियाका विद्रोही समूहले हमा, देरा र तेस्रो ठूलो शहर होम्स समेत कब्जा भएसँगै राजधानी दमिस्कको सम्पर्क अरु शहरबाट टुटेको छ ।
विद्रोहीहरु उत्तर, पूर्व र दक्षिणतर्फबाट अगाडि बढेपछि उनीहरुलाई रोक्न सरकारी सेना असफल भएको छ । केही स्थानमा सरकारी सेना विद्रोहीहरु सामु निरीहजस्ता देखिएको तथा कुनै स्थानमा विद्रोहीहरुलाई रोक्ने कोसिस समेत नगरेको, कुनै स्थानमा आत्मसर्पण गरेको र कुनै स्थानमा उनीहरु आफ्नो स्थान छाडेर भागेको बीबीसीले जनाएको छ ।