काठमाडौँ । जुम्ला घर भएका सुरेन्द्र श्रेष्ठ (परिवर्तित नाम) विगत ३ महिनादेखि लोकसेवाको तयारी गर्दै पार्ट टाइममा अनलाइन राइड सेयरिङ प्लेटफर्म मार्फत यात्रु बोक्थे ।
कलङ्की बस्ने सुरेन्द्र गत भदौ २५ गते भक्तपुरको कमलविनायकस्थित आमा भेट्न गएका थिए । फर्कने बेला साँझ परिसकेको थियो । फर्कँदा खाली जानु भन्दा कोही यात्रुलाई लिएर गए तेल खर्च निस्कने सोचेर उनी इन्ड्राइभमा अनलाइनमा यात्रु पर्खिए ।
सोही क्रममा साँझको ६ बजेर ५३ मिनेट जाँदा उनलाई जोरपाटीका लागि एउटा रिक्वेस्ट (अनुरोध) आयो । उनले सो रिक्वेस्ट एसेप्ट (स्वीकार) गरे र यात्रुलाई फोन गरे । फोन गरेर यात्रु भएको लोकेसन (स्थान) मै पुगेका सुरेन्द्रले एक युवतीलाई पिक गरेर (उठाएर) गन्तव्यतर्फ लागे ।
चढेको केही समयमै ति महिला यात्रुले 'आफूसँग साथमा पैसा नभएको र मोबाइलमा पनि चार्ज सकिएका कारण गन्तव्यमा पुगेपछि ममीसँग पैसा मागेर दिने' बताइन । चालक सुरेन्द्रले पनि सो कुरा सजिलै स्वीकार गरे ।
त्यसको केही समयमै सुरेन्द्रलाई इन्ड्राइभबाट आएको त्यो रिक्वेस्ट क्यान्सिल अर्थात रद्द भयो । युवतीले 'मोबाइलमा चार्ज सकिन लागेको' बताएका कारण चार्ज सकियो होला भन्ने सोचेर सुरेन्द्रले वास्ता गरेनन् ।
यात्रा केही पार गरेपछि ति युवतीले पुनः 'घरमा आमा बिरामी भएका कारण औषधी लैजान पर्ने, आफूसँग साथमा पैसा र मोबाइलमा चार्ज नभएको' भन्दै सुरेन्द्रलाई ३ हजार दिन अनुरोध गरिन् । उनले सो पैसा समेत 'घरमा पुगेपछि आमासँग मागेर दिने' बताइन् । बिरामी नै भएको भनेपछि सुरेन्द्रले केही नसोची दिनभरि राइड गरेर कमाएको ३ हजार पैसा ती युवतीलाई थमाए ।
‘आमा नै बिरामी परेको भनेपछि कसो नदिउँ भन्ने लाग्यो । केही नसोची दिनभरि खाजा नखाई कमाएको पैसा उनको हातमा थमाइदिएँ ।’, सुरेन्द्रले सिधाकुरासँग भने, ‘हेर्दा सोझी थिइन् । मादक पदार्थ, लागू पदार्थ खाएर हिँड्ने खालको पनि लागेन । त्यही भएर पैसा दिएँ ।’
यतिसम्म कि सुरेन्द्रले आफ्नो बाइकमा तेल हाल्नुपर्ने भएपनि ती युवतीलाई पैसा दिएर आफूले बाटोमा अनलाइनबाट तेल हालेको पैसा तिरे ।
ती युवतीले एक फार्मेसीमा पुगेपछि सुरेन्द्रलाई औषधी किन्नका लागि भन्दै बाइक रोक्न भनिन् । फार्मेसीमा गएर औषधीसमेत किनिन् र गन्तव्यतिर लागिन् ।
उनीहरु इन्ड्राइभमा हालेको लोकेसन अर्थात जोरपाटी पुल नजिकै पुगे । तर, ती युवतीले 'घर अलिक भित्र भएका कारण त्यहाँ लगिदिन' अनुरोध गरिन् । राइड सेयरिङमा त्यस्तो भइरहने भएकाले सुरेन्द्रले युवतीले भनेकै स्थानमा पुर्याइदिए ।
गन्तव्यमा पुगेपछि ती युवतीले आमालाई भन्दै एक महिलालाई कल गरेर 'पैसा ल्याइदिन' अनुरोध गरिन् । ती महिलाले 'हुन्छ' भने पनि नआएपछि ती युवतीले नजिकैको पसललाई देखाउँदै 'त्यहाँबाट पैसा लिएर आउने' बताइन र पसलतर्फ लागिन् । त्यस समयसम्म सुरेन्द्रले बाइक फर्काउन लागे ।
बाइक फर्काएर २ मिनेट पर्खँदासमेत ती युवती नआएपछि उनले भक्तपुरमा ती युवतीलाई पिक गर्ने समयमा इन्ड्राइभ मार्फत कल गरेको नम्बरमा पुनः कल गरे । सो नम्बरमा कल गर्दा एक युवकले फोन उठाएर 'आफू कमलविनायकमा रहेको र ती युवतीले राइड बुक गरिदिन आग्रह गरेकाले आफूले इन्ड्राइभ गरिदिएको' बताए ।
उनले फोन काटे र ती युवतीले देखाएको पसलमा गए । 'ती युवती पैसा लिन भनेर त्यहाँ आएको' बताउँदै उनको खोजी गरे । तर, पसलमा भएका व्यापारीले 'आफ्नोमा कोही नआएको र मंगलबार मात्र त्यसै गरि युवतीहरुले सो स्थानमा ४/५ जनालाई ठगेको' जानकारी दिए ।
त्यसपछि भने सुरेन्द्रलाई आफू ठगिएको थाहा भयो । केही समय युवतीको पर्खाइमा त्यहि पसलमा पर्खि बसे । तर, युवती आउने कुनै पत्तो भएन ।
पसलेले समेत 'ती युवती त्यही स्थानमा बस्ने भए उनको फोटो हेरेर चिन्न सक्ने' बताए । त्यसपछि सुरेन्द्रले आफूले तेल हालेको पेट्रोल पम्प र ती युवतीले औषधी किनेको फार्मेसीमा सिसिटिभी चेक गर्न गए । त्यहाँबाट सिसिटिभी फुटेज लिएर ती पसलेकहाँ पुगेका सुरेन्द्रलाई 'आफूले ती युवती कहिल्यै नदेखेको' प्रतिक्रिया दिए ।
दिनभरी कमाएको पैसा लुटिएपछि उनी बुधबार बिहानै कमलविनायकस्थित ती युवतीलाई इन्ड्राइभ गरिदिने पसलमा पुगे र 'आफू लुटिएको' बताए । त्यतिमात्रै हैन, उनीहरुकै मिलेमतोमा आफू ठगिएको बताउँदै प्रहरीमा उजुरी दिने बताए । तर ती व्यक्तिले 'उनी आफूकहाँ आएको ग्राहक मात्रै भएको' प्रतिक्रिया दिए ।
त्यसपछि उनी ती युवतीविरुद्ध उजुरी दिन प्रहरी वृत बौद्ध पुगे । त्यहाँको प्रहरीले समेत 'इन्ड्राइभ कम्पनीले केही उजुरी नदिइ केही नहुने' भन्दै सुरेन्द्रलाई फर्काइदिए ।
उनले त्यसपछि इन्ड्राइभको नेपालस्थित सपोर्ट सेन्टरमा आफू ठगिएको जानकारी गराए । तर, इन्ड्राइभले गैर जिम्मेवार जवाफ पठायो । नेपालमा आफ्नो कार्यालय नभएको बताउँदै इन्ड्राइभले एक्सन लिन्छौँ त भन्यो तर सहयोग भने गरेन । ‘ठगिएकोमा दुख व्यक्त गर्छौँ, हामी एक्सन लिन्छौँ’ चालकलाई इन्ड्राइभले पठाएको मेसेजमा भनिएको छ ।
घटना घटेको एक साता बित्न लाग्दासमेत कम्पनीले थप केही प्रतिक्रिया नदिएपछि सुरेन्द्रले पुन कम्पनीलाई झक्झकाए तर कम्पनीले आफू जिम्मेवार नहुने बतायो । ‘यसमा हामीले केही गर्न सक्दैनौँ ।’, कम्पनीले भनेको छ, ‘यो क्यान्सिल भएको राइड मा न हामीले कमिसन लिएका छौँ । राइड क्यान्सिल गर्ने सबैबाट हुन्छ । हामीले यो केही गर्न मिल्दैन ।’
आफू लुटिएकाे र साे विषय सरोकारवाला निकायमा जानकारी गराउँदासमेत वास्ता नगरेको भन्दै उनी सिधाकुराको कार्यालय आए ।
'आफू लुटिए पनि अरु राइडर नलुटिउन् भन्ने सोचेर आफू मिडियामा आउन चाहेको' उनी बताउँछन् । तीनै ठगिएका युवक सुरेन्द्रसँग सिधाकुराले गरेको कुराकानी यस्तो छ :
पूरा भिडियो :
नोटः पीडित युवकको अनुरोधमा उनको पहिचान गोप्य राखिएको छ ।