इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा रास्वपाले जित्न नसकेपनि सिक्न सकेको बताएका छन् । उपनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सो अभिव्यक्ति दिएका हुन् ।
त्यस्तै सभापति लामिछानेले इलाम २ मा रास्वपालाई मतसँगै यति ठूलो सन्देश दिने सम्पूर्णमा आभार व्यक्त गरेका छन् । ‘हामीलाई मत दिनु हुने र मत संगै ठुलो सन्देश दिनुहुने सबै प्रति आभारी छु। रास्वपा उमेदवार मिलन लिम्बु लगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद। जित्न सकिएन, सिक्न सकियो।’, लामिछानेले लेखेका छन् ।
लामिछानेले उपनिर्वाचनमा निर्वाचित भएका नेकपा एमालेका उम्मेदवार सुहाङ लिम्बुलाई बधाई दिँदै रास्वपाको पराजयलाई ‘इफ, बट’ को सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्य र शुभचिन्तकमा आग्रह गरेका छन् ।
इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका थिए भने रास्वपाका उम्मेदवार मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेर चौथो स्थान ओगटेका थिए ।