भरतपुर । भरतपुरमा ३ वर्षदेखि अलपत्र परेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप निमार्ण अघि बढेको छ । भरतपुर महानगरपालिकाले ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वानको सूचना जारी गरेकासँगै काम अघि बढ्ने देखिएको हो । महानगरले यो ठेक्का पहिलो चरणको निमार्णका लागि भएको जनाएको छ । पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण पर्ने छन् ।
महानगरपालिकाले विगत ५ वर्षमा सरदर ५८ करोडको वार्षिक निर्माण कारोबार गरेको राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरेको छ भने छनौट भएको कम्पनीले साढे २ वर्षभित्र रंगशाला बनाइसक्नु पर्नेछ ।
रंगशाला पूर्णरुपमा निमार्णसम्पन्न हुनका लागि ३ अर्ब लाग्ने भएकाले पहिलो चरणको निमार्ण सकिएपछि दोस्रो चरणको काम सुरु हुने भरतपुर महानगरपालिकाले जनाएको छ ।
आगामी मार्च ३१ गते १२ बजेसम्म टेण्डर हाल्ने अन्तिम समय दिइएको छ । टेण्डर भएको मितिले ३० महिनामा पूरा गरिसक्नुपर्ने भनिएको छ ।
हास्यँकलाकार सिताराम कट्टेल (धुर्मुस)ल र कुञ्जना घिमिरे(सुन्तली)को धुर्मुस सुन्तली फाउन्डेसनले निमार्णको सुरुवात गरेपनि कोभिड महामारीसँगै आर्थिक अभाव खड्कीएपछि महानगरलाई जिम्मा लगाएर फाउन्डेसन बाहिरिएको थियो ।
फाउन्डेसन बाहिरिएपछि रंगशालाको काम अलपत्र परेको थियो । निमार्ण भएको संरचना बिग्रीन थालेका थिए ।
तर केहि दिन अघि वागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माणको प्रक्रिया अघि बढेको हो ।