काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाईका लागि पहल भइरहेको बताएकी छिन् ।
सिँहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशी सकुशल रहेको भन्दै रिहाईका लागि पहल भइरहेको बताएकी हुन् ।
युद्धबन्दीलाई छाड्ने क्रममा विपिन जोशीलाई छाड्नका लागि आफूले कुटनीतिक तबरबाट पहल गरिरहेको उनले बताइन् । त्यस्तै उनले रुस–युक्रेन युद्धमा फसेका नेपालीहरुलाई समेत सकुशल फिर्ता गर्नका लागि अनुरोध गरिएको जानकारी दिइन् ।
उनले हालै प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भएको बीआरआई सम्झौतालाई ऋणलाई नभइ अनुदानमा अघि बढाउने सहमति भएको जानकारी दिइन् । पटक पटक अध्ययन गरेर बीआरआईलाई अघि बढाइएको भन्दै उनले राष्ट्रहित अनुसार नै अघि बढाइएको दावी गरिन् ।
त्यस्तै परराष्ट्रमन्त्री राणाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को बैठक राख्न समेत पहल गरिरहेको तर भारतबाट सकारात्मक जवाफ नआएको जानकारी दिइन् । सार्कको मुख्य बैठक बस्न नसकेपछि अन्य क्रियाकलापहरु भने जारी रहेको उनको भनाई छ ।