काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पनि न्यायिक हिरासत पठाइएको छ । आज सरकारी वकिल र जोहेरीकर्ता तर्फका वकिलले बहस गरेका थिए । रवि लामिछाने पक्षका वकिलहरुले आज बहस गर्न पानएनन् । आज बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा पठाइएको हो ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी सम्बन्धी मुद्दाको बयानका लागि आइतबार बिहानै अदालत पुगेका लामिछानेको बयान सकिएपनि थुनछेक बहस सुरु भएको थिएन । सरकारी वकिलले समय माग गरेपछि हिजो बहस नभएको हो । त्यसपछि लामिछनेलाई भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरको न्यायिक हिरासतमा राखिएको थियो ।
सोमबार बिहानै अदालत पुर्याइएका उनीविरुद्ध सरकारी वकिल र जाहेरीकर्तातर्फका कानुन व्यवसायीले बहस गरेका हुन् ।
आज सरकारी वकिलका तर्फबाट काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल सहित ११ जना सरकारी वकिलले बहस गरेका थिए ।
यस्तै लामिछानेका तर्फबाट भने वरिष्ठ अधिवक्ता तथा पूर्वन्यायाधिवक्ताद्वय सुशिल पन्त, रमन श्रेष्ठ तथा वरिष्ठ अधिवक्ता नारायण घिमिरे, अधिवक्ता डा नारायणदत्त कँडेल, राजेन्द्र सेढाँई लगायतले बहस गर्ने तयारी गरेका थिए । तर उनीहरुको पालो आएन ।
स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछानेविरुद्ध ५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ । स्वर्णलक्ष्मी ठगी प्रकरणका दुई अभियुक्त भने यसअघि नै धरौटीमा छुटिसकेका छन्।