पोखरा । जिल्ला अदालत कास्कीले मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तारका लागि घुस लिएको अभियोगमा पक्राउ परेका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिस्ट्रार उदयबहादुर पराजुलीलाई पुर्पक्षको लागि थुनामा पठाइएको छ ।
पराजुलीलाई गत बुधबार उनी कार्यरत कुश्मा नगरपालिकाको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको थियो ।
पराजुलीविरुद्ध मित्रमिलन सहकारी अध्यक्ष रमण पौडेलले सहकारी रजिस्ट्रार हुँदा एक करोड २५ लाख रुपैयाँ घुस लिएको बयान दिएका छन् । उनकै बयानका आधारमा उनलाई पक्राउ गरेको हो ।
अदालतले पूर्वरजिस्ट्रार पराजुलीसँगै कर्मचारी गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराललाई समेत पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
सहकारीका तीनहजार ४४६ जना पीडित बचतकर्ताहरूले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको दाबीसहित प्रहरीमा उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ८ गते मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक अपचलन गर्ने ३२ जनाविरुद्ध ३१ करोड बिगो दाबीसहित सरकारी वकिलको कार्यालयमा मार्फत अदालतमा पेश गरेको थियो ।
सहकारीका अध्यक्ष एवं सञ्चालक ३२ वर्षीय रमन पौडेल र कार्यकारी अधिकृत किरण अधिकारी यसअघिदेखि नै कारागारमा छन् भने पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीसहित विभिन्न मितिमा ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
वडाध्यक्ष सुवेदी, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा समिति सदस्य तथा ताण्डव न्युज पत्रिकाका प्रधान सम्पादक अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको हो । उनीहरु हालसम्म फरार सूचीमै छन् ।