मुस्ताङ : प्रधानमन्त्रीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु संरक्षण वापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रूपैयाँ मुस्ताङलाई दिने घोषणा गरेका छन् ।
बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले प्रचण्डले जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणको लागि सरकार गम्भीर रहेको भन्दै मुस्ताङ जिल्लालाई ५० करोड सहयोग गर्ने बताए ।
जलवायु परिवर्तन अहिले अन्तर्राष्ट्रिय चुनौती बनेको र यसप्रति सरकार पनि संवेदनशील रहेको उनले बताए । उनले भने ‘यसबाट सरकारले मुस्ताङ जिल्लाको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील छ भन्ने प्रमाणरूपमा राख्न चाहन्छु ।’
त्यस्तै उनले आफूले संयुक्त राष्ट्रसंघको महासभामा पनि यसबारे गम्भीरतापूर्वक कुरा राखेर विश्वको ध्यानाकर्षण गराएको बताएका छन् । ‘पछिल्लोसमय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ। हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ।’, उनले भने,‘मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरें। मैले संयुक्त राष्ट्रसंघको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छु ।’