पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट ४ जना मन्त्रीले शपथ लिएसँगै यातायात व्यवस्थामन्त्रीको मन्त्रालय सरुवा भएको छ ।
एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।
एमालेका तर्फबाट मन्त्री बनेकी नवलपुरकी पद्मा जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छिन् भने बागलुङका कृष्ण पाठकले स्वास्थ्य मन्त्रालय पाएका छन् । यस्तै पर्वतका मित्रलाल बस्याललाई उद्योग तथा पर्यटन मन्त्रालय जिम्मा लगाइएको छ भने कास्कीका प्रकाशबहादुर केसीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय दिइएको छ ।
यो मन्त्रालयमा एमालेका प्रकाशबहादुर आएपछि यस अघि मन्त्रालय सम्हालेका दीपक मनाङेलाई अर्को मन्त्रालय सरुवा गरिएको छ । मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।