काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले विपद पछिको उद्धारमा महानगरले तीब्र रुपमा काम गरिरहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत महानगरले गरिरहेको कामको जानकारी दिँदै मेयर शाहले काठमाडौँको डुबान क्षेत्रमा उद्धारका लागि ३०० जना नगर प्रहरीले काम गरिरहेको बताए ।
बर्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमार्फत उक्त जनशक्ति खटाइएको उनको भनाई छ। ‘निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँ सिर्जना भएको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना परिचालन गरिएको छ ।
टोलीहरू डुवान भएका वस्ती, नदी किनारा, रूख ढलेर अवरोध भएको सडक जस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेका छन्,’ मेयर शाहले भनेका छन् ‘वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शङ्खमूल, न्युरोड, गणेशस्थान लगायत स्थानको समस्या समाधान भइरहेको छ।’
स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास महानगरले गरेको पनि उनले बताए ।
विपदमा आफू र परिवारलाई बचाउनु तथा आपतमा परेकालाई जोगाउने हरेक नागरिकको दायित्व भएको भन्दै उनले आवश्यक सतर्कता अपनाउन र विपद सामना गर्न पूर्व तयारी गर्न पनि सबैलाई आग्रह गरेका छन् ।