काठमाडाैँ । ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित प्रहरीले तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौँले २ किलो ६५४ ग्राम कोकिनसहित तीन विदेशी महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २ जना युगान्डाका र एक जना भारतीय महिला रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै ब्युरोका एसएसपी गोविन्द थपलियाले युगान्डाकी एक महिलाले निलेर पेटमा राखी कोकिन नेपाल ल्याएको बताएका छन् । उनका अनुसार वैशाख ३० गते कतारबाट काठमाडौँ आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगालाले प्लाष्टिकले र्याप गरी निलेर कोकिन ल्याएकी हुन् । उनको पेटबाट ९० वटा कोकिनका क्याप्सुलहरू निकालिएको प्रहरीले जनाएको छ ।
त्यस्तै युगान्डाकै अर्की महिला लिलियान सुसन वानयाङजी १ किलो ३९४ ग्रामसहित गत जेठ २ मा धोबीचौरबाट पक्राउ परेकी छिन भने ३३ वर्षीया भारतीय नागरिक दिवा जनी पल सो कोकिन किन्न धोबीचौर पुगेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।