काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैको पनि अनुहार नहेर्ने प्रतिबद्धता गरेका छन् । सोमबार प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा ओलीले सो अभिव्यक्ति दिएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले कुनै पनि भ्रष्टाचारका विषयमा अनुहार र दल नहेरिने बताएका छन् । ‘कुनै पनि प्रकारको भ्रष्टाचार सम्बन्धमा मोलाहिजा गरिने छैन । कुनै पनि दलविशेष भनेर हेरिने छैन, छुट्याइने छैन । कुनै पनि भ्रष्टाचार गर्ने व्यक्तिको अनुहार हेरिनै छैन । अनुहार नहेरिकन व्यवहार हेरेर कारबाही गरिनेछ । सबैलाई ढुक्क हुन म अनुरोध गर्छु’, प्रधानमन्त्री ओलीले भने ।