काठमाडौं । दुबईमा बिरामी र बेरोजगारी कारण अलपत्र परेका इलामका सुकबहादुर लिम्बू सिधाकुराको पहलमा नेपाल आइपुगेका छन् । तीन महिना अघि रोजगारीको सिलसिलामा दुबई पुगेका लिम्बू गंभिर बिरामी भएर थलिएपछि उद्धार गरिदिन आग्रह गर्दै सिधाकुराको सम्पर्कमा आएका थिए ।
करिब एक हप्ताअघि सिधाकुराको ह्वाट्सएप नम्बर ९८५१३६२६६६ मा मेसेज गरेर लिम्बूले आफू बिरामीले २ हप्तादेखि थलिएको र आफूलाई नेपाल झिकाएर बचाउन अपिल गरेका थिए । उनको अनुरोधपछि सिधाकुरा डटकमको टिमले दुबईमा लामो समयदेखि कार्यरत र त्यहाँ पीडामा रहेका नेपालीलाई सहयोग गर्दै आएका सुजन थापासँग सहकार्य गरेरे शनिबार लिम्बूलाई नेपाल ल्याइएको हो । उनी आइतबार नै इलाम पुगेका छन् । ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभाग युएईका प्रमुख समेत रहेका थापाले सिधाकुराको आग्रहमा लिम्बू रहेको स्थानमा गएर उनको अवस्था बुझेर उनलाई नेपाल ल्याउने प्रबन्ध गरेका थिए । उनले अबु दावीस्थित नेपाली दुतावासमा नै पुगेर लिम्बूलाई नेपाल फर्काउन पहल गरेका थिए ।
उद्धार पछि आइतबार सिधाकुराको कार्यालयमा आएका सुकबहादुरले आफूले दुबईमा हुँदा अत्ति नै पीडादायक क्षण गुजारेको बताए । मुखको संक्रमणका कारण पीडित उनले उपचार समेत पाएका थिएनन् । ‘मलाई प्रत्येक रात, भोलि उज्यालो देख्न पाइँदैन होला जस्तो लाग्थ्यो । राति त्यस्तो छट्पटाइरहेको हुन्थेँ । सहन नसकेर राति उठेर चौतर्फी छट्पटाइरहेको हुन्थेँ ।’ त्यस्तै उनले आफू नेपाल फर्किन सक्ने कुनै कल्पना नगरेको र आफूलाई उद्धार गरिदिएको सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।