भूकम्प प्रभावित स्थानका पीडितहरुले राहत पाएका छन् वा छैनन् भन्ने विषयको अनुगमनका लागि प्रतिनिधि सभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको टोली जाजरकोट र रुकुम पश्चिम जाने भएको छ ।
समितिका सभापति रामहरि खतिवडाका अनुसार समितिका ९ सदस्यीय टोली बुधबार बिहान भूकम्प प्रभावित जिल्लाहरुमा जाने र त्यहाँको वस्तुगत स्थिति अध्ययन गरी सरकारलाई निर्देशन दिने तयारी रहेको छ ।
सभामुख देवराज घिमिरेले संसद्को अधिवेशन नभएकोले संसद्को राज्य व्यवस्था तथा सुशासन समिति घटनास्थलमा गएर अध्ययन गर्न निर्देशन दिएसँगै आफूहरु जान लागेको सभापति खतिवडाले बताए ।
उनले राज्यलाई समस्या परेको समयमा घटना घटेको स्थानमा पुग्ने, अध्ययन गर्ने लगायतका सम्पूर्ण खर्च सरकारलाई व्यहोर्न नलगाई आफूहरुले नै व्यहोर्ने समेत बताएका छन् । उक्त टोलीले भूकम्प प्रभावित स्थानका जनताहरुको अवस्था, उनीहरुले राहत पाए नपाएको विवरण लगायतका विषयमा केन्द्रित रहेर अध्ययन गर्ने जनाइएको छ ।
भोलि जाजरकोट र रुकुम पश्चिम जाने ९ सांसदहरुको सूचिमा गगन थापा, विश्वप्रकाश शर्मा, हृदयराम थानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसीलगायत रहेका छन् । उनीहरुको टिकट काटिसकेको खतिवडाले जनाएका छन् ।