काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले अलपत्र रहेका ठूला विकास आयोजनाको पैदल यात्रालाई निरन्तरता दिने भएको छ । शनिबार काठमाडौँ क्षेत्र नं ८ का सांसद विराजभक्त श्रेष्ठको वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक समारोहमा बोल्दै सभापति लामिछानेले यस्तो घोषणा गरेका हुन् ।
हरेक सांसदले एक एक विकास आयोजनाको पैदल यात्रा गरेर उक्त आयोजना निर्माणका लागि दबाब सृजना गर्ने नीति पार्टीले लिएको रास्वपाका सभापति रावि लामिछानेले बताए । कुन विकास परियोजनामा कुन सांसदले पैदल यात्रा गर्ने भन्नेबारे भने पत्रकार सम्मेलन गरेर जानकारी दिने सभापति लामिछानेले बताए । ‘अब हामी २१ वटा आयोजनामा पैदल यात्रा गर्नेछौँ। सरकारको ढिला सुस्तीले अलपत्र रहेका आयोजनाहरुमा रास्वपाका सांसदहरुले पैदल यात्रा गर्नेछ,’ सभापति लामिछानेले भने । जनताको हरेक समस्यामा खरो रुपमा उत्रने योजनाअनुसार रास्वपाका २१ सांसद बराबर देशका २१ आयोजनाहरु निर्माणका लागी दबाब स्वरुप पैदल यात्रा गर्ने उनको भनाई छ ।