काठमाडौँ । सरकारी वकिल कार्यालय कास्कीले पूर्वडिआइजी छविलाल जोशी बञ्जाडेको बयान भन्दै गरिएको प्रचारबाजी गलत भएको स्पष्ट पारेको छ ।
सहकारी ठगी आरोपमा पक्राउ परेका जोशी अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनको बयान भन्दै केही अफवाहपूर्ण समाचार फैलिएपछि जिल्ला सरकारी वकिल कार्यालयले बयान भन्दै गरिएको प्रचार हल्ला र अनावश्यक कुरा भएको जनाएको हो ।
हिरासतमा रहेका उनीमाथि मङ्गलबारबाट प्रारम्भिक सोधपुछ भए पनि लिखित बयान भने नभएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।
‘जोशीमाथि सोधपुछ र अनुसन्धानका विभिन्न चरणको काम भइरहेको छ,’ काफ्लेले भनिन्‘ बाहिर बयान भन्दै आएको कुरा अनावश्यक प्रचार र हल्ला हो । लिखत बयान भएको भए मैले हस्ताक्षर गर्नु पर्ने थियो । मलाई त्यो आएकै छैन् ।’
उनीमाथि प्रहरी र सरकारी वकिलको रोहबरमा मङ्गलबार देखि सोधपुछ सुरु भएको र त्यो जारी रहेको काफ्लेले भनिन् । अनुसन्धानको चरणमा गरिने बयान गोप्य रहने र त्यसलाई बाहिर ल्याउन कानुनले निषेध गरेको पनि काफ्लेले स्पष्ट पारिन । ‘कसले के बयान गर्न भन्ने कुरा बाहिर चुहिने वा भन्ने विषय होइन,’ उनले थपिन, ‘बयान भनेर गरिएको हल्लाहरुको बारे मैले केही भन्न सकिन । त्यो अनावश्यक हल्लाको प्रचार हो ।’
यता, जिल्ला प्रहरी कार्यालय कास्कीले पनि प्रहरीको हबला दिएर प्रचार गरिएको जोशीको बयानबारेका कुरामा सत्यता नभएको जनाएको छ । ‘प्रतिवादीको बयान नै सुरु नभइसकेको अवस्थामा यस्तो प्रचार भएको छ,’ अनुसन्धान प्रक्रियामा सामेल एक प्रहरी अधिकारीले सिधाकुरासँग भने, ‘बयान नै नभएको बेलाको मनगडन्ते प्रचार त जसरी गरे पनि भयो । आफ्नो अनुकुलतामा लेखे भइहाल्यो ।’ उनका अनुसार उनीमाथि प्रारम्भिक सोधपुछ भए पनि लिखित बयान र बयान अनुसारको कागजातको संलकनको प्रक्रिया भने मङ्गलबारबाट मात्रै सुरु भएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जोशीको बयान सुरु भएको बताए । ‘यो सबै कुरा अनुसन्धान प्रक्रियामा प्रवेश गरेको छ,’ शर्माले भने, ‘बाँकी कुरा मैले बाहिर बोल्ने विषय होइन । बोल्न मिल्दैन ।’
सहकारी ठगी प्रकरणमा जोशीलाई आइतबार प्रहरीले पक्राउ गरेर कास्की प्रहरीलाई जिम्मा लगाएको थियो । जोशीलाई सोमबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएको थियो भने अदालतले अनुसन्धानका लागि ५ दिन म्याद दिएको थियो । उनै जोशीले दिएको बयान भन्दै प्रहरी अधिकारीलाई अनाम उदृत गर्दै केही सञ्चार माध्यमले अफवाहपूर्ण समाचार प्रवाह गरेका थिए ।
समाचारमा आफ्नो नाम मुछिएको र अनुसन्धानलाई प्रभावित गर्न खोजिएको भन्दै रास्वपा सभापति रवि लामिछानेले मङ्गलबार फेसबुकमार्फत समाचारको खण्डन गरेका थिए । पक्राउ परेका जोशी गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक हुन् । गोरखा मिडिया नेटवर्कमा सहकारीहरुबाट रकम प्रवाह भएको भन्दै उनीलगायतलाई जिम्मेवार बनाउन भन्दै संसदीय छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको थियो ।