काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सुदन किराँती अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवबीच चर्काचर्की परेको छ । केहीबेर विवाद भएपछि किराँतीले संसदीय समिति बैठक बहिष्कार गरेका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सभापति राजकिशोर यादवले बोल्न रोकेको भन्दै सांसद किरातीले बैठक बहिष्कार गरेका हुन् ।
बैठकका लागि राखिएको बिभिन्न एजेण्डमा धारणा राखिरहदा सभापति यादवले बिषय केन्द्रीत भएर छोटोमा आफ्ना प्राविधिक कुराहरु राख्न भनेका थिए । त्यसलगतै किराँतीले आफु टेक्निकल बिज्ञ नभएर सांसद भएकाले नीतिगत कुरा राखेको बताएका थिए । किराँती र सभापति यादवबीच केही समय भनाभन भएको थियो ।
आफू समितिले राखेका एजेण्डामा नै बोलेको किराँतीले दावी गरेका थिए । त्यसपछि सभापति यादवले आफ्ना भनाइ सक्न आग्रह गरेपछि थप बिषय नराखि उनी बैठकबाट निस्केका हुन् । सो क्रममा किराँतीले आफुलाई सभापतिले धम्काउन बोलाएको भन्दै आक्रोशित बनेका थिए ।