काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले विदेशमा बस्ने नेपालीलाई भेडा भनेको बारे आफ्नो धारणा प्रष्ट्याएका छन् । केही दिन अघि एक टेलिभिजन अन्तरवार्तामा उनले विदेशमा बस्ने नेपालीहरूलाई भेडा भनेका थिए ।
आफ्नो सो अभिव्यक्ति विवादमा परेपछि सांसद थापाले बिहीबार सामाजिक सञ्जालमार्फत कसलाई भेडा भनेको हो भनी थप प्रष्ट्याएका छन् ।
थापाकाअनुसार उनले स्वदेश तथा विदेशमा रहेका र परिचालित रुपमा भ्या भ्या गर्नेहरूलाई भेडा भनेका हुन् । ‘मैले भेडा जमात भनेको विदेशमा रहेका सबै नेपालीलाई होइन, स्वदेश र विदेशमा रहेका केही सङ्ख्याका भेडाहरूलाई मात्र हो । जो परिचालित भएर भ्याभ्या गरिरहेका छन्,’ थापाले फेसबुकमा लेखेका छन् ।
सांसद थापाले सहकारी ठगी प्रकरणमा समितिले तयार गरेको प्रतिवेदनको उल्टो व्याख्या गरेको भन्दै रास्वपा कार्यकर्ता र शुभ चिन्तकहरूलाई भेज ग्रुप अर्थात भेडा जमात भनेका थिए ।