बुटवल । नेपाली कांग्रेसका नेता एनपी साउदले दुई तिहाई बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक पक्ष नभएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेश कार्यालय बुटवलले आइतबार आयोजना गरेको साक्षात्कारमा बोल्दै साउदले संसद छलेर अध्यादेशमार्फत गएका कुराहरुले स्थायीत्व दिन नसक्ने समेत बताएका हुन् । बहुमत हुँदापनि संसद बैठक नचलाएर बन्धक बनाउन खोज्दै अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको उनले बताए ।
‘संसद नबसेको बेलामा अध्यादेशमार्फत पनि हामीले कानुन बनाउन सक्छौँ । अध्यादेशमार्फत कानुन बनाएपनि त्यसलाई जबसम्म संसदले पारित गर्दैन तबसम्म त्यो कानुन दिगो हुन सक्दैन । त्यो कानुन लामो समयसम्म ऐनका रुपमा रहन सक्दैन । त्यसकारण यो संसदबाट आउनुपर्ने ठाउँमा, विधेयकको रुपमा आउनुपर्ने ठाउँमा अध्यादेशबाट आउनुपर्यो भन्ने विषयमा प्रश्न उठाउने ठाउँ छन् ।’, नेता साउदले भने ।
उनले अध्ययादेशमार्फत ल्याइएका विषयवस्तुमा विपक्षी दलको पनि समर्थन हुने खालका विषय भएपनि संसदमा नलैजाँदा प्रश्न उठेको तर्क गरे । साउदले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले साथ दिएको बताउँदै सरकारले तदनुसारका क्रियाकलापहरु नगरेको गुनासो गरे ।
दुई दल बिचको न्युनतम साझा सहमती कार्यान्वयन नभएको गुनासो आईरहेको भन्दै पूर्ण पालना गर्न उनले सुझाव समेत दिए ।
नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए । संविधान संसोधन सम्बन्धी सञ्चारकर्मीको प्रश्नमा उनले अब संविधान सबैले सर्वस्वीकार्य हुने र अपनत्व गर्नेगरि संसोधन गर्ने बेला आएको धारणा राखे ।