काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री एवम् पार्टी साधारण सदस्य मुकुल ढकालले आफूलाई पार्टीले सोधेको स्पष्टीकरण दिनुको सट्टा उल्टै पार्टी सभापतिलाई स्पष्टीकरण सोधेका छन् । बुधबार पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिने क्रममा उनले स्पष्टीकरण भन्दा पार्टी सभापति लामिछानेमाथि प्रश्नको ओइरो खनाएका छन् ।
यसअघि आफूलाई पार्टीले गरेको कारबाहीसम्बन्धी कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन भन्दै पार्टीलाई पत्र लेखेपछि रवि लामिछानेले पुनः स्पष्टीकरण सोध्न लगाएको उनको आरोप छ । बुधबार आफूलाई सोधिएको स्पष्टीकरणले रवि लामिछानेले पार्टीमा विधि विधान विपरीत, थिति र हित हैकमे निरङ्कुश शासन चलाइरहेको बताउँदै उनले पार्टी सभापतिलाई नै स्पष्टीकरण सोधेका हुन् ।
यस्ता छन् मुकुल ढकालले रवि लामिछानेलाई सोधेको ३ बुँदे स्पष्टीकरण :
१. सहकारी ठगी मुद्दामा तपाईँमाथि पार्टीबाट स्वतन्त्र छानविन समिति किन गठन नहुने ? तपाईँले आजको दिनसम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटकपटक ढाँट्नु भएको छ । म स्वयंले पनि तपाईँको ढाँटलाई सत्य मानेर बसिरहेको थिए तर असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईँमाथि सहकारी ठगीसम्बन्धी छानविन हनुपर्ने फैसला गरिसकेको छ । सर्वोच्च अदालतको फैसलालाई तपाईँ मान्ने कि नमान्ने ? फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ? देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफू माथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्छ । छानबिनका लागी तयार हुने आँट छ ? रबि लामिछाने ज्यू ?
२. तपाईँले दुई वटा पासपोर्ट प्रयोग गरेको तथ्य बाहिरिइसकेको छ । आफ्नो अपराध लुकाउन कसरी राज्यका निकायलाई प्रयोग गर्नु भयो , घाम झैँ छर्लङ्ग यो विषय निकट भविष्यमा अदालतले व्याख्या गर्ने नै छ । विद्यमान ऐन कानुन अनुसार तपाईँ मन्त्री त के सांसद बन्न पनि अयोग्य ठहर हुन सक्नु हुन्छ । तपाईँले विगतमा गरेको अपराधका लागी पार्टी बलि चढ्नु पर्ने ? आँट छ भने, आफ्ना सबै पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्नुहोस् । आँट छ ? रवि लामिछाने ज्यू ?
३. नीतिगत काम मात्र गरिन्छ भनेर गृहमन्त्री बन्नु भएको तपाईँले गृह मन्त्रालय समाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नु भयो, जनता र पार्टीका साथीहरूलाई स्पष्ट पार्नुहोस् । का.स.मु.मा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढ्वामा जुन चलखेल गर्नु भयो, त्यो भ्रष्ट्राचारको सङ्केत होइन ? आँट छ भने मन्त्री हँदा आफूले गरेका प्रत्येक निर्णय पार्टीको जान्नेलाई छान्ने नीति अन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस, अमेरिकामा रहेका आफ्नै हितैषीहरूको बैँक स्टेटमेन्ट सार्वजनिक गर्नुहोस् । आँट छ ? रवि लामिछाने ज्यू ?
राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध लागेको भन्दै तत्कालीन समयमा महामन्त्री रहेका ढकाललाई पार्टीले केन्द्रीय सदस्य र महामन्त्रीबाट निलम्बन गरेर साधारण सदस्यमात्र रहने गरी कारबाही गरेको थियो । त्यसकै बिच ढकालले सञ्चार माध्यमदेखि सामाजिक सञ्जालमा समेत पार्टीविरुद्ध भ्रम फैलाउन खोजेको भन्दै रास्वपाले बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।