काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई कैद र जरिवानाको फैसला सुनाइएको छ । विशेष अदालतले उनलाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवानाको असुलीको सजाय सुनाएको हो ।
पौडेललाई नेसनल पेमेन्ट गेटवे (एनपीजी) भ्रष्टाचार प्रकरणमा बैशाख ७ गते अदालतले दोषी ठहर गरेको थियो । यद्यपी सजाय भने आज निर्धारण भएको हो । विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले आज सजाय निर्धारण गरेको हो ।
नेसनल पेमेन्ट गेटवे (एनपीजी) खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध गत असोज १५ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दायर गरेको थियो ।