काठमाडाैँ : नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न भएको छ ।
काठमाडौँको होटल याक एन्ड यतिमा भएको बैठकमा ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र राजनीतिक विषयमा छलफल भएको हो।
परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा बसेको बैठकमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको परराष्ट्रमन्त्री एनपी साउदले जनाएका छन् ।
‘उहाँ (जयशंकर)सँग दुईदेशीय सम्बन्धबारे आदानप्रदान गर्न पाउँदा खुसी लागेको छ’, मन्त्री साउदले भने, ‘हामीले सातौँ नेपाल–भारत संयुक्त आयोगको बैठकमा समेत बस्यौँ। सो क्रममा दुई देशको विविध पक्षबारे छलफल भयो।’
परराष्ट्रमन्त्री साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा जयशङ्कर दुई दिने भ्रमणका क्रममा बिहिबार नेपाल आइपुगेका हुन् । उनले प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग सिष्टाचार भेटवार्ता गरिसकेका छन् ।