कैलाली । जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले कक्षा १० मा अध्ययनरत छन् । अध्ययनसँगसँगै बिदाका दिन उनलाई भ्याइनभ्याई हुन्छ । घर नजिकै रहेको पर्यटकीय क्षेत्र घोडाघोडी तालमा छुट्टीका दिन क्यामेरा लिएर उनी पुग्छन् । ताल घुम्न आउने पर्यटकलाई आकर्षक तस्बिर खिचिदिएवापत उनले मनग्य कमाई गर्दै आएका छन् । उनी घोडाघोडीमात्रै होइन, कर्णाली चिसापानी, टीकापुर उद्यान पनि तस्वीर खिच्ने काम गर्दै पुग्ने गरेको सुनाउछन् ।
अहिले पर्यटकीय क्षेत्रमा फोटोग्राफी एकदमै राम्रो चलेको छ । केही युवाहरूले त्यो क्षेत्रबाट मनग्ये आम्दानी गर्दै आएका भने कतिपयले व्यवसायको रूपमै फोटोग्राफीलाई बनाएका छन् । दिनप्रतिदिन युवाहरू फोटोग्राफीमा जोडिदै गएका छन् । एक–दुईजनाबाट सुरु भएको फोटोग्राफी घोडाघोडीमा अहिले १५ जनाभन्दा बढी युवा जोडिएका छन् । घोडाघोडीमा मात्रै नभई कर्णाली चिसापानी, टीकापुर उद्यानमा पनि ‘फोटोग्राफर‘ थपिँदै गएका छन् । घोडाघोडी नगरपालिकाकै करण क्षेत्री रोजगारीकै सिलसिलामा आठ वर्ष भारत तथा दुई वर्ष दुबई बसे । वैदेशिक रोजगारीबाट एक वर्ष पहिले फर्किएका करणलाई त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।
साथीभाइको सँगसँगै फोटोग्राफीमा लागेका करण देशमा सम्भावना नभएरभन्दा पनि त्यसको पहिचान गर्न नसकेर विदेशिनेहरू धेरै रहेको बताउछन् । ‘विदेशमा बाध्यताको काम हुन्छ, जसरी पनि गर्नैपर्छ । त्यति गरेपछि मात्रै पैसा देख्न पाइन्छ’, उनी भन्छन, ‘कामको प्रवाह नगरेर पैसा कमाउन खोज्दा बिग्रेको छ । आज रु एक दुई लाखको लगानीले विदेशमा कमाउने पैसा यतै कमाउन सकिँदोरहेछ ।’
सोही ठाउँका हर्क धामी दुई वर्षदेखि घोडाघोडीमा फोटोग्राफीको काम गर्दै आएका छन् । । सुरुका दिनमा सोचेजस्तो कमाई नभए पनि पछिल्लो दिनमा अपेक्षाभन्दा राम्रो कमाई भएको बताउछन् । ‘फोटोग्राफीबाट कुनै विशेष दिनमा दिनकै रु १० हजारसम्म कमाई गर्न सकिन्छ’, उनले भने, ‘महिनामा रु ६० देखि ७० हजारसम्म कमाई हुन्छ । उनले पैसाकै लागि विदेश जानु नपर्ने भन्दै देशमै थुप्रै सम्भावना रहेको बताए ।
फोटोग्राफीसँगै घोडाघोडीमा पर्यटकलाई लक्षित गरेर घोडा व्यवसाय पनि फस्टाएको छ । घोडाघोडी नगरपालिका वडा नं ४ का वसन्त शाहीले कालिकोटबाट दुईवटा घोडा ल्याएर घोडाघोडीमा पर्यटक घुमाउने काम गर्दै आएका छन्।‘घोडाघोडीको नामले परिचित क्षेत्रमा घोडा आवश्यक छ भन्ने लागेर कालिकोटबाट घोडा ल्याएर पर्यटकलाई घुमाउने काम गर्दै आएको छु’, शाहीले भने, ‘पर्यटकको रोजाइमा घोडा परेका छन् । जसबाट राम्रो आम्दानी पनि भइरहेको छ ।’ उनले घोडा चढेबापत रु २५ देखि एक सयसम्म लिने गरेका छन् । अब कर्णाली चिसापानी र टीकापुर उद्यानमा पनि पर्यटकलाई लक्षित गर्दै घोडा राख्ने तयारीमा रहेको शाहीले बताए ।
पछिल्लो समय पर्यटकीय क्षेत्रमा फोटोग्राफी र सांस्कृतिक पहिचान झल्काउने पोशाकको माग निकै बढेको छ । कैयौँ आन्तरिक पर्यटक पहिचान झल्काउने पोशाक लगाएर तस्बिर खिच्नकै लागि पनि त्यस क्षेत्रमा पुग्ने गरेका छन् । एउटा तस्बिरको फोटोग्राफरले रु २० लिने गर्छन् । कुनै पोशाक लगाएको रु एक सय लाग्छ । “म नेपाली पोशाक लगाएर फोटो खिच्नकै लागि साथीहरूसँग घोडाघोडी आएकी हु’, टीकापुरकी सुहाना क्षेत्रीले भने, ‘साथीहरूले यसअघि नै आएर खिचेको फोटो राम्रो लागेपछि म पनि आएकी हुँ । मजस्ता कैयौँ मान्छे सुन्दर तस्बिर खिच्न यहाँसम्म पुग्छन् ।’
घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपाल र घोडाघोडी नगरपालिकाको संयुक्त संरक्षणमा घोडाघोडी ताल रहेको छ । त्यहाँ रु १० प्रवेश शुल्क लाग्छ । दैनिक एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक तालको अवलोकनका लागि पुग्ने गर्छन् । त्यहाँबाट भएको आम्दानी मञ्च र नगरपालिकाले संयुक्त रूपमा लिने गरेको मञ्चका कर्मचारी दीपक शाह बताउनुहुन्छ । उनका अनुसार वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुने गरेको छ । पूर्वपश्चिम राजमार्गसँगै रहेको ताल पर्यटकका लागि मात्रै नभई चराचुरुंगीका लागि अझ विशेष छ ।