जनकपुर : कातिक १० गते जनकपुरको इस्कन मन्दिर नजिक धान खेतमा मृत भेटिएका रुपेश महरा चमारको हत्या लागूऔषध सेवनपश्चात मोबाइलको विषयमा विवाद हुँदा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएका छ ।
चमारको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक समेत गरेको छ ।
हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले औरही गाउँपालिका वडा नम्बर ६ चक्कर टोल भई हाल जनकपुरधाम–२४ बसहियाका पवन सहनी र सोही ठेगाना भएका मुसहरी टोलका हरिचन मण्डललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार उनीहरु तीनै जना जटहीस्थित नेपाल भारत सीमा पारीबाट प्रतिबन्धित नाइट्राभेट नामक लागूऔषध सेवन गरी आएका र बीचमा उनीहरुबीच मोबाइलको विषयमा विवाद हुँदा हरिचनले रुपेशको टाउकोमा पछाडीबाट भाटाले प्रहार गरेपछि मृत्यु भएको हो ।
हत्या आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा लगाई थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले बताएको छ ।