काठमाडौंँ । पदम गिरी विद्यार्थी राजनीतिबाट उदाएका नेकपा एमालेका युवा नेता हुन् । वि.सं २०३३ मा पर्वतको दुर्लुङमा जन्मिएका गिरीको पृथ्वीनारायण क्याम्पसबाट राजनीतिक यात्रा सुरु भएको थियो । २०५० सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा भर्ना भएका उनी भर्ना भएकै वर्ष एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूमा प्रवेश गरे ।
२०५४ मा नेकपा एमाले दुर्लुङ गाउँ कमिटी सचिवबाट पार्टीको सक्रिय राजनीतिमा आवद्ध भएका उनी २०५५ सालमा अनेरास्वीयू पृथ्वीनारायण क्याम्पसको प्रारम्म्भिक कमिटीको सचिव हुँदै स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए ।
उनी २०५७ सालमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीको अध्यक्ष बने । त्यतिमात्र नभएर स्वतन्त्र विद्यार्थी युनियनको उपसमितिमा समेत निर्वाचित भएका थिए गिरी ।
विद्यार्थी राजनीतिकै क्रममा अनेरास्ववियू राष्ट्रिय परिषद सदस्य हुँदै केन्द्रीय सदस्य बनेका पदम गिरी २०५९ सालको स्ववियू निर्वाचनमा पुनः दोस्रो पटक उपसभापतिमा निर्वाचित भए । त्यस्तै उनी २०६२ सालको स्ववियू निर्वाचनमा पृथ्वीनारायण क्याम्पसको सभापतिमा निर्वाचित भए । यहि बिचमा २०६७ मा नेकपा एमाले पर्वत जिल्ला कमिटी सचिवालय सदस्य बनेका उनी २०७२ मा भएको पर्वतको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भए ।
त्यतिञ्जेल विद्यार्थी राजनीति र जिल्लामा राजनीति गरेका गिरी २०७४ पछि देशको राष्ट्रिय राजनीतिमा प्रवेश गरे । २०७४ मंसिर २१ मा भएको आम निर्वाचनमा पर्वत १ बाट नेपाली कांग्रेसका अर्जुन जोशीलाई पराजित गर्दै संघीय सांसद बने ।
२०७५ मा नेकपा एमालेको गण्डकी प्रदेश कमिटी सदस्य बनेका उनी एमालेको दसौँ महाधिवेशनबाट केन्द्रीय सदस्य तथा पर्वत जिल्ला सह–इन्चार्ज बने ।
यस्तै,२०७९ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोस्रो पटक पनि गिरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनले नेपाली काँगे्रसकै अर्जुन जोशीलाई पुनः हराउँदै दोस्रो पटक संसद यात्रा तय गरेका थिए ।
दोस्रो पटक प्रतिनिधिसभा सदस्य बनेका उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो चुनावी मन्त्रिमण्डलमा २०७९ माघ ३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भए । त्यसअघि राज्य र सहायकमन्त्री मात्र पाएको पर्वतले पहिलो पटक गिरीमार्फत नै फुल मन्त्री पाएको थियो । तर, करिब डेढ महिना मन्त्रालयको नेतृत्व सम्हालेका गिरी २०७९ फागुन १५ गते सत्ता गठबन्धन टुटेसंगै बहिर्गमनमा परे ।
प्रचण्डले राष्ट्रपति निर्वाचनमा गठबन्धन परिवर्तन गरेसँगै एमाले सरकारबाट बाहिरियो । जसका कारण गिरीले पदबाट राजीनामा दिएका थिए ।
संसदीय निर्वाचनमा ‘ह्याट्रिक’ उम्मेदवार जोशीलाई दुईपटकसम्म पराजित गरेका गिरीलाई पार्टीभित्रका नेताहरुले ‘म्यान अफ दि इलेक्सन’ को ट्याग दिने गरेका छन् । त्यस्तै पार्टी राजनीति र इमानमा अडिग गिरीलाई राजनीतिक कद बढाउन पार्टी अध्यक्ष केपी ओलीले पार्टीको प्रमुख सचेतकको भुमिका दिएका थिए ।
आइतबार राति एकाएका सत्ता समिकरण बदलिएर २०७९ पुस १० मै फर्किएपछि गिरी पुनः मन्त्रीको रुपमा सिंह दरबार प्रवेश गरेका छन् ।