प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठककाे शून्य समयमा बोल्दै सांसद गैरेले नेपालको भुगोल सुन्तलाका लागि उपयुक्त भएको र सुन्तला स्वास्थ्यको लागि पनि फाइदाजनक भएको भन्दै राष्ट्रिय फल घोषणा गर्न आग्रह गरेका हुन् ।
उनले अन्य देशको उदाहरण दिँदै सुन्तलालाई नेपालको राष्ट्रिय फल किन घोषणा नगर्ने भन्दै प्रश्न गरेका छन्, ‘भारतले आँपलाई, जापानले हलुवावेदलाई राष्ट्रिय फल बनाएको छ । त्यसैगरी नेपालले सुन्तलालाई राष्ट्रिय फल घोषणा किन नगर्ने ?’, सांसद गैरेले भने ।
त्यस्तै उनले सुन्तलाले देशको जीडिपीमा समेत उल्लेखनिय भुमिका खेल्ने भएका कारण सरकारलाई सुन्तलाको उत्पादन वृद्धि गर्न बजेटको समेत घोषणा गरेका छन् ।
‘नेपालमा वर्षेनी ३० अर्ब ६१ करोडको सुन्तलाको कारोबार हुने गरेको छ । सात लाखले रोजगारी पाउने गरेका छन् । अन्य अन्नबालीभन्दा ६/७ गुणा बढी फाइदा हुने गरेको छ। कृषि क्षेत्रको तर्फबाट सुन्तलाले कुल ग्राहस्थ उत्पादनको १ प्रतिशत योगदान दिएको छ ।’, उनले भने ।