काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उप निर्वाचनमा आफ्नो उम्मेदवारमाथि सरकारबाटै असुरक्षा बढेको दाबी गरेको छ। आइतबार पार्टी कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले यस्तो दाबी गरेको छ । सो पार्टीका निर्वाचन परिचालन समितिका संयोजक एवम् प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले बताए ।
‘रास्वपा उपनिर्वाचनमा होमिएको छ, तर राज्यबाटै हाम्रा उम्मेदवार असुरक्षित बनेका छन्,’ सांसद पराजुलीले भने,‘हाम्रो उम्मेदवारलाई धाकधम्की र अपहरणको प्रयास भएको बताएको छ ।’
हुम्ला र मधेश प्रदेशका केही स्थानमा उपनिर्वाचनमा उम्मेदवार बन्न लागेका व्यक्तिलाई सत्तारुढ दल नेपाली कांग्रेसका सदस्यहरूले दुर्व्यवहार र कुटपिट समेत गरिएको उनले बताए । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचनमा उम्मेदवारी दिन तयारी गरिरहेकी सुजाता थापा र उनका श्रीमान बल थापालाई शनिबार दिउँसो करिब ४०–४५ जनाको समूहले घरबाटै लछारपछार गरी अपहरणको शैलीमा अज्ञात स्थलमा लगेको रास्वपाले जनाएको छ ।
‘अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुनसक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र उहाँको परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुगेका छन्,’ नेता पराजुलीले भने । रास्वपासहित सबै दलका उम्मेदवारको सुरक्षाको माग पनि उनले गरे ।