काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपामाथि अराजनीतिक व्यवहार गरेको आरोप सो पार्टीले लगाएको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले आफ्नो सभापति रवि लामिछानेमाथि विशुद्ध राजनीतिक प्रतिशोध साधिएको दोहोर्याउँदै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
सो कार्यक्रममा बोल्दै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले यस्तो आरोप लगाएका हुन् । पार्टी सभापति माथि साधिएको राजनीतिक प्रतिशोध, सहकारीको ८८ अर्ब रुपैयाँ बचत फिर्ता र सरकारका काम कारबाहीबारे ज्ञापन पत्र बुझाउन समय माग्दा प्रधानमन्त्रीले समय नदिएको नेता झाले बताए ।
‘हामीले ज्ञापन पत्र बुझाउन ५ दिन देखि समय माग्यौँ । तर, प्रधानमन्त्री र उनको सचिवालयले हामीलाई भेट दिएनन्,’ उनले थपे, ‘सार्वजनिक स्थलमा गएर रास्वपामाथि खिसिट्युरी गरे । हामीलाई भेट नदिएर ज्ञापन पत्र बुझाउन आउलान् फोटो खिचेर पठाइदिन्छु भनेर सार्वजनिक कार्यक्रममा भने ।’
सहकारीको ८८ अर्ब बचत पचाउन आफ्नो सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको पनि रास्वपाले प्रष्टयाएको छ । लोकतन्त्र र विधिको शासनमा राज्यबाट गरिएको हर्कत गलत भएको भन्दै यसको राजनीतिक समाधान नखोजिए आन्दोलन चर्काउने सो पार्टीले जनाएको छ ।