५ असाेज, काठमाडौं : आन्दोलनरत शिक्षक र सरकारसँग भएको भनिएको सात बुँदे सहमति राहत शिक्षकहरुले नमान्ने भएका छन्।
सरकारसँग भएको वार्तामा आफूहरुको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरुले सहमति नमान्ने भएका हुन् ।
सरकारले गरेको सहमतिले आफूहरुलाई धोका भएको भन्दै राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले उक्त सहमति पत्रमा हस्ताक्षरसमेत नगरेको बताएका छन् । त्यस्तै उनले आफूहरु शिक्षक महासंघबाट अलग्गिएर आन्दोलनमा होमिने बताए ।
दुई पक्षबीच भएको वार्तामा आफ्नो माग समाधान नगरेपछि हस्ताक्षर नै नगरी बैठकबाट उठेर हिँडेका राहतका शिक्षकहरुले आफ्ना आन्दोलनका कार्यक्रम निरन्तर जारी राख्ने बताएका छन् ।
२०७५ सालअघि नियुक्त भएका राहत शिक्षकहरू विस्थापित नहुने गरी विद्यालय शिक्षा विधेयकमा समेट्नु पर्ने आफूहरुको माग सम्बोधन नगरेको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन् ।
उनीहरुले भोली माइतीघर मण्डलामा जम्मा भएर आन्दोलन जारी राख्ने भएका छन् । ४० हजार राहत शिक्षक उपस्थित भएर आन्दोलन जारी राख्ने उनीहरुको योजना छ ।