काठमाडौँ । माओवादीले बैठक अवरुद्ध गर्ने अडान कायमै राखेपछि आजको संसद बैठक स्थगित भएको छ । आजको लागि तय भएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो । अर्को बैठक भोलि दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ ।
केही दिनअघि नेकपा एमाले सांसद योगेश भट्टराईले संसदमा प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द रेकर्डबाट हटाउनुपर्ने माग माओवादी केन्द्रका सांसदहरुले राखेका थिए । तर यसअघिको बैठकमा हिंसा शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने सभामुखको रुलिङसंगै माओवादीले विरोध जनाउँदै सदन अवरद्ध गरेको थियो ।
आज १ बजेका लागि तय भएको संसद बैठक बस्नुअघि सभामुख देवराज घिमिरले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकसंग छलफल गरेका थिए । संसद सचिवालय सिंहदरबारमा भएको छलफलका क्रममा सभामुख घिमिरेले सदनको गतिरोध हटाई सहज रुपमा सदनलाई अघि बढाउन आग्रह गरेका थिए । तर उक्त बैठक निष्कर्षबिहिन भएको थियो ।
त्यसपछि नेकपा माओवादी केन्द्रले ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म संसद बैठक चल्न नदिने अडान दोहोर्याएपछि आजकौ बैठक स्थगित गरिएको हो ।