वीरगंज । नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । एमबीबीएस, बीडीएस र पीजी गरिरहेका ६ सय बढी विद्यार्थी तथा इन्टर्न गरिरहेका चिकित्सकहरु कलेजविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । विभिन्न बहानामा विद्यार्थीहरुसँग मनोमानी रुपमा रकम असुली बन्द गर्नुपर्नेे, होस्टल मै बस्नुपर्ने बाध्यात्मक अवस्था हटाउनुपर्ने, अनिवार्य इन्टरनेट जडान गर्नुपर्ने व्यवस्था खारेज गर्नुपर्ने, अवासीय चिकित्सकहरुको पारिश्रमिक वृद्धि गर्नुपर्ने, फिल्ड भिजिट सीएचडीएफपी, एफएचई, एचएसएममा ग्रामिण भेगमा लैजानुपर्नेे, टियूले निर्धारण गरेको नियम लागु गर्नुपर्ने लगायतको माग गर्दै आन्दोलनमा उत्रिएका एमबीबीएस अध्ययनरत धनबहादुर तमाङले बताए ।
पटक पटक कलेज प्रशासनलाई मागहरु राख्दै आउँदा पनि बेवास्ता गरेकाले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई माग सम्बोधनका लागि ज्ञापनपत्र बुझाएपनि यस सम्बन्धमा कलेज प्रशासनले नै सुनवाई गर्नुपर्ने भन्दै पठाईदिएकाले बाध्य भएर ओपिडि बन्द गरेर आन्दोलनमा उत्रिएको आन्दोलनरत विद्यार्थीहरु बताउँछन् ।
चिकित्सक जस्तो संवेदनशील पेशाका विद्यार्थीहरुले दुषित तथा गुणस्तरहिन खाना खान बाध्य हुनुनपरोस् र आर्थिक अवस्था कमजोर भएकाले कोठा लिएर भएपनि पढ्न पाउन सक्नुपर्ने भन्दै आन्दोलन गर्नुपरेको विद्यार्थीहरुको भनाई छ ।
कलेजले सरकारले निर्धारण गरेको रकममा अध्यापन गराउनुपर्नेमा विभिन्न नाममा जथाभाबी शुल्क उठाइएकाले विद्यार्थी पढ्न नसक्ने अवस्थामा पुगेका छन्’, आन्दोलनरत विद्यार्थी सुनिल यादव भन्छन् ।
यस कलेजमा विभिन्न माग राख्दै विद्यार्थीहरुले पटक–पटक आन्दोलन गर्ने, सहमति गर्ने र ति सहमतिहरु कार्यान्वयन नभएपछि फेरि आन्दोलन गर्ने क्रम चलिरहेको छ । मेडिकल कलेज पढाउने नाउँमा विभिन्न बहाना बनाई ठगी धन्दा गर्ने गरेको विद्यार्थीहरुको आरोप छ ।