२५ भदौ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा प्रहरीले लुटेरा समूहमाथि गोली चलाएको छ । प्रहरीको गोली लागि उक्त समूहका एक व्यक्ति घाइते भएका छन् । घाइते हुनेमा सिन्धुलीका २५ वर्षीय अमर घलान रहेको प्रहरीले बताएको छ ।
गोकर्णेश्वर नगरपालिका–९ जगडोलमा लुटेरा समूहबारे सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको थियो । तर लुटेरा समूह हातहतियार सहित आक्रमणमा उत्रिएपछि प्रहरीले आत्मरक्षकाको लागि गोली चलाएको बताएको छ ।
उक्त समूहबाट एउटा पेस्तोलसहित ७ राउण्ड गोली र दुई वटा मोटरसाइकल बरामद गरेकाे अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
सो क्रममा प्रहरीले घाइतेसहित ३ जनालाई पक्राउ गरेको छ । घाइतेको नेपाल मेडिकल कलेज मा उपचार भईरहेको छ । पक्राउ पर्नेमा शान्त लामा र जितेन लामा रहेका छन् ।