चितवन । डाँका मुद्दामा ९ वर्षको कैद भुक्तान नसकिँदै गत जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका एक व्यक्ति चितवनमा अपहरण तथा ज्यान मार्ने धम्कीको अभियोगमा पुन पक्राउ परेका छन् ।
मकवानपुरको हेटौँडा महानगरपालिका २ घर भएका ५५ वर्षका रामचन्द्र थापा पुन पक्राउ परेका हुन् । उनले भरतपुर महानगरपालिका १ का सोमराज सुवेदीलाई फोन गरी २५ लाख रुपियाँ नदिए छोराको हत्या गर्ने धम्की दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार थापाले पटक पटक फोन गरी पैसा नदिए विद्यालय गएको समयमा छोराको हत्या गर्ने धम्की दिएका थिए ।
उनले प्रयोग गरेको एनसेल नम्बरको टेलिफोन प्रयोग गरी चितवन प्रहरीले फिरौती रकम दिने बहानामा प्रहरी कार्यालयकै एक सय मिटरको दुरीमा रहेको भरतपुर अस्पताल गेटबाट पक्राउ गरेको प्रवक्ता डिएसपी पण्डितले जानकारी दिए ।
५५ वर्षका थापा २०६६ सालदेखि ४ पटकसम्म विभिन्न कसुरमा संलग्न भएको प्रहरी रेर्कड छ । पछिल्लो पटक चितवन कारागारमा डाँका मुद्दामा ९ वर्षको जेल सजाय काट्दै थिए । कैद भुक्तान गरेको ४ वर्ष ६ महिना ३ दिन भएपछि गत जेठ १५ गते गणतन्त्र दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएर कैद मुक्त भएका थिए ।
२०६६ सालमा चोरी कसुर,दोस्रो पटक अवैध हतियार देखाइ डाँका सम्बन्धी कसुर गरेको आरोपमा मुद्दा खेपेका थिए ।
तेस्रो पटक २०७३ सालमा लागूऔषध सम्बन्धी कसुरमा पक्राउ परेका थिए ।
२०७५ सालमा पनि डाँका सम्बन्धी कसुरमा ९ वर्ष कैद सजाय पाएर कैद भुक्तान गरिरहेको उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले माफि मिनाह गरेका थिए ।