काठमाडाैँ : नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भएको भेटघाटका क्रममा संक्रमणकालीन न्याय प्रक्रियालाई टुंग्याउन नेपालले विभिन्न विषयमा ध्यान दिनुपर्ने भन्दै ३ सुझाव दिएका छन् ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्न, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरूपूरा गर्न साथै शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन सुझाव दिएका हुन् ।
त्यस्तै उनले नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन आफू रु राष्ट्रसंघ सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
उता प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगे पनि टुंगिन बाँकी रहेको विषयमा राष्ट्रसंघका महासचिवसँग कुराकानी भएको बताए ।
‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय समुदाय र महासचिवको महत्वपूर्ण भूमिका हुने कुरा पनि गरिएको छ, नेपालको आर्थिक विकास र समृद्धिलगायतका विषयमा पनि कुरा भएको छ।’ प्रधानमन्त्री प्रचण्डले भने ।
यस अघि महासचिव गुटरेसले आइतबार नै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका छन् । आइतबार राति नेपाल आएका गुटरेसको आइतबार धेरै भेटघाटका कार्यक्रम रहेको छ ।
उनले राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतसँग पनि भेटवार्ता गर्नेछन् ।