सरकारले विवादित बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले सो निर्णय गरेको हो ।
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले च्याम्पियन फुटवेयरले पाएको १० रोपनी जग्गा सरकारकै भएको ठहर गर्दै सरकारको नाममा ल्याउने निर्णय गरेको हो । कार्यालयका प्रमुख छविराम नेपालीका अनुसार उक्त जग्गा मालपोत ऐन २०३४ को दफा २४ अनुसार नेपाल सरकारको मातहत ल्याइएको हो ।
त्यस्तै जग्गा सरकारीकरण गरिएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालीले सीआईबीको सहयोगमा लामो समयदेखि आफूहरुले उक्त जग्गा जरकारको नाममा ल्याउने प्रकिया सुरु गरेको र आज अन्तिम टुंगो लागेको बताएका छन् ।
नेपालीका अनुसार नेपाल सरकारको सहमतिबिना नै २ चरणमा गरेर १० रोपनी सरकारी जग्गा फुटवेयरको नाममा गएको हो । २०४४ भदौ ५ मा ६ रोपनी र २०४४ मंसिर १८ मा ४ रोपनी गरी कुल १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा नामसारी भएको थियो ।