काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका सबै पेट्रोल पम्पमा पहेलो रङ्ग लगाउने भएको छ । बुधबार महानगरपालिकाले पम्पहरुको व्यवस्थापनबारे गरेको सरोकारवालाहरुको छलफल पछि यस्तो निर्णय भएको महानगरपालिकाले जनाएको छ ।
पम्प पहिचानका लागि पहेंलो रङ्ग लगाउने, पम्पमा सेवाग्राहीका लागि निशुल्क शौचालय उपलब्ध गराउने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।
यस्तै, पेट्रोल पम्पमा काम गर्नेहरुका लागि अनिवार्य खैरो रङ्गको पीपीइ लगाउने व्यवस्था गर्ने निर्णय पनि महानगरले गरेको छ । पम्पभित्र हरियाली कायम गर्ने र पम्पका कार्यरतहरुलाई महानगरले निशुल्क अग्नि नियन्त्रणको तालिम दिने पनि महानगरपालिकाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । छलफलमा नेपाल आयल निगम, नगर प्रहरी, नेपाली सेनाको पम्पका प्रतिनिधि लगायतको उपस्थिति थियो ।