काठमाडौँ । आज ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । उक्त बैठकमा सचिवालय हेरफेरका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्यपकमल दाहालले राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारी संरचना सुधार गर्ने र त्यसको सुरुवात प्रधानमन्त्री कार्यालयबाटै हुने बताएका थिए । त्यस्तै उद्योग मन्त्रालयमा भएको छलफलमा पनि प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाको काम आजैदेखि सुरू हुने बताएका थिए ।
सचिवालयको भूमिकामा बारम्बार प्रश्न उठेपछि प्रधानमन्त्रीले आफ्नो स्वकीय सचिवालय र निजी सचिवालय हेरफेरको तयारी गरेको बालुवाटार स्रोतको दाबी छ तर सबैभन्दा धेरै प्रश्न उठेको आफ्नै छोरी गंगा भने हट्ने छैनन् ।
अहिले प्रधानमन्त्री कार्यालयमा सल्लाहकार सचिवालयमा ४ जना स्वकीय सचिवालयमा ३१ जना र निजी सचिवालमा ४ जना गरी ३९ जना छन् ।
हाल प्रधानमन्त्रीको सल्लाहकार सचिवालयमा गोविन्द आचार्य प्रेस सल्लाहकार, देवेन्द्र पराजुली जनसम्पर्क सल्लाहकार, रामदीप आचार्र्य प्रशासन सल्लाहकार र रूपक सापकोटा परराष्ट्र सल्लाहकारकारुपमा रहेका छन् । प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार रहेका हरिबोल गजुरेलले राजिनामा दिइसकेका छन् ।
यस्तै प्रमुख स्वकीय सचिवमा माओवादी केन्द्रीय सदस्य सन्तकुमार दरै, स्वकीय सचिवमा गंगा दाहाल र रमेश मल्ल रहेका छन् । यस्तै स्वकीय सहचिवमा गोकर्णप्रसाद भट्ट, नारायणप्रसाद ढुंगाना, शिवबावु खकुराल, मनहरि शर्मा र बुद्धिबहादुर घर्ती रहेका छन् ।
यस्तै स्वकीय उपसचिवमा रमेशप्रसाद गुरागाईं, प्रकाश राय, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कलबहादुर नाथ रहेका छन् । यस्तै स्वकीय शाखा अधिकृतमा ५ जना रहेका छन् भने थप ८ जना समेत सचिवालयमा नियुक्त छन् ।
विकास व्यवस्थापन विज्ञकारुपमा पपुलर जेन्टल छन् भने दीपेन्द्र खड्का जनस्वास्थ्य विज्ञकारुपमा रहेका छन् ।