काठमाडाैंँ : थुनछेक बहस गराउन जिल्ला अदालत काठमाडौँ पुर्याएपछि अदालत परिसरबाटै फरार भएका थुनुवालाई प्रहरीले जडिबुटिबाट पक्राउ गरेको छ ।
बुधबार जिल्ला अदालत काठमाडौँ परिसरबाट फरार भएका विमल खड्कालाई बिहिबार काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ जडीबुटीस्थित न्युदोलखाली गेष्ट हाउसबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
अदालतबाट हतकडीसहित फरार भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर २ घर भई भक्तपुरको दुवाकोट बस्दै आएका खड्काले हतकडी र थुनुवा ज्याकेट कोठामा छोडेर जडीबुटिको होटलमा आएर बसेको अवस्थामा पक्राउ गरिएको हो ।
उनको खोजीका लागि प्रहरी वृत्त महाराजगन्जका प्रमुख अमरबहादुर थापा क्षेत्री र प्रहरी परिसरको संयुक्त टोली परिचालन भएको थियो।
सस्तोमा डलर साट्ने भन्दै प्रलोभन देखाएर लुटपाट र ठगी गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो ।