काठमाडाैँ : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ‘पोइजन इन्फरमेसन सेन्टर’ अर्थात विष सूचना केन्द्रको को स्थापना भएको छ । अस्पतालको फर्माकोलोजी विभागद्वारा स्थापना गरिएको उक्त सूचना केन्द्रको स्वास्थ तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुभारम्भ गरेका हुन् ।
उक्त सेवाको सुभारम्भ गर्दै मन्त्री बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ को सेवालाई स्थानीय तहसम्म पु¥याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । त्यस्तै उनले शिक्षण अस्पतालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको प्रशंसा समेत गरेका छन् ।
“यो सेन्टरले विष सेवनका कारण उपचारमा आउने गरेका समस्यालाई निराकरण गर्न टेलिमेडिसिनकै काम गर्ने छ । शिक्षण अस्पतालले उपलब्ध गराएको सम्पर्क नं सबै वडास्तरमा उपलब्ध गराई तत्काल सेवा सञ्चालन हुन्छ”, मन्त्री बस्नेतले भने। कार्यक्रममा डा राकेश घिमिरेले नेपालमा वर्सेनी ६ हजार नौ सय ३३ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै ती मध्ये १८ देखि २० प्रतिशतसम्म विष सेवन गरेर हुने गरेको जानकारी दिए ।
कार्यक्रममा डा रामु खरेलले सूचना केन्द्रले धेरै मानिसको ज्यान बचाउन सकिने बताए । केन्द्रका अनुसन्धान तथा नीति सहप्रध्यापक डा प्रदीप ज्ञवालीले मुलुकको भूगोलअनुसार समस्या पहिचान गरी सेवा विस्तार गर्न सकिने बताए ।
शिक्षण अस्पतालको क्लिनिकल फर्माकोलोजी विभागले उक्त ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा ल्याएको हो । विष सेवन गरेकाको उपचारलाई प्रभावकारी बनाएर उनीहरुको मृत्युदर कम गर्ने उद्देश्यले विज्ञहरुमार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गर्ने उद्देश्यले यो सेन्टरको स्थापना गरिएको हो ।
त्रिवि शिक्षण अस्पतालमा स्थापना गरिएको यो सूचना केन्द्रले २४ घण्टा आवश्यक सूचना उपलब्ध गराउने छ । विष सेवनपछिको उपचारका विषयमा जानकारी लिनुपरेमा ०१–४५०२०११ मा फोन गर्न सकिने विभागले जनाएको छ । विष सेवन पछिको उपचारका विषयमा जानकारी दिन संस्थागत रुपमा स्थापना गरिएको यो नेपालको पहिलो सेन्टर भएको जनाइएको छ ।