महोत्तरी । महोत्तरीको मटिहानिमा आगलागीबाट पीडित भएकाहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एक महिनाको तलब बराबरको राहत वितरण गरेका छन् ।
प्रतिनिधि सभा सदस्य एवंम राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता समेत रहेका झाले एक महिना बराबरको तलबले आगलागी पीडितहरूलाई राहत स्वरूप कपडा वितरण गरेका हुन् । उनले राहत स्वरूप साडी, हाफ पाईन्ट र टिसर्ट वितरण गरेका हुन् ।
आफनो खर्चमा राहत वितरण गर्दै झाले भने, ‘प्रतिनिधिसभा सदस्यको रूपमा ५७ हजार ८७४ रुपैँया मासिक तलबको रुपमा खातामा आउँछ। एक महिनाको तलब बराबरको लत्ताकपडा किनेर आज महोत्तरीको मटिहानीमा आगलागी भएको १ सय ३ घरपरिवारलाई राहत होस् भन्ने उद्देश्यले कपडा वितरण गरेको छु।’
मटिहानी नगरपालिका–६ मुस्लिम बस्तीमा आगलागी हुँदा १ सय ३ घर जलेर नष्ट भएको थियो । मटिहानी ६ जरलहर्वागाछी भगवती टोलमा भएको आगलागीले बस्ती नै सखाप पारेको थियो ।