वाशिङ्टन डिसी (अमेरिका) । अमेरिकामा नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बबीसिं शाह पक्राउ परेका छन् । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको थियो । पाण्डेको हत्याका अभियोगमा शाहलाई पक्राउ गरी तस्बिरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।
हयुष्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५ः३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो । प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको र सोही जानकारीका आधारमा अपार्टमेन्टमा प्रहरी टोली सोमबार पुगेका जनाइएको छ ।
त्यहाँ उनीहरूले गोलीको प्रहारपश्चात निधन भएकी मुनाको शव बरामद गरेका थिए । प्रहरीले बुधबार मात्र शङ्कास्पद व्यक्तिको तस्विर सार्वजनिक गरेको थियो । सोही दिन साँझ संदिग्ध शाहलाई गिरफ्तार गर्न सफल भएका थिए ।
नेपाली समुदायका अगुवाहरूले मुनाको न्यायको लागि प्रयास गरिरहने र संदिग्ध व्यक्तिलाई अधिकतम सजायको माग गरेका छन् ।
यस्तै पक्राउ परेका बबिसिंले प्रहरीलाई दिएको बयानमा हत्याको कारण खुलाएका छन् । उनले लुटपाटको क्रममा मुनाको हत्या गरेको स्विकार गरेका छन् ।
नियतवश घातक हतियाले प्रहार गरिएको प्रहरीले अदालतमा पेश गरेको कागजमा खुलेको छ। अमेरिकाबाट प्रकाशित हुने नेप्योर्क डटकमका अनुसार बब्बी सिंह साहले बयानका क्रममा लुटपाटका क्रममा हत्या गरेको स्विकार गरेको बयान सहितको कागज अदालतमा पेश भएको छ ।