बारा । प्रहरीले बाराको आदर्शकोतवाल गाउपालिका ३ स्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कुशवाहा हत्याका मुख्य अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्याको मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
क्याम्पस प्रमुखको हत्या भएको करिब ६ महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । विराटनगरमा लुकेर बसेको विशेष सूचनाका आधारमा अभियुक्त कुशवाहालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई बुधबार विराटनगरबाट पक्राउ गरिएको हो ।
गत जेठ ३२ गते साँझ साढे पाँच बजेको समयमा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरीया निवासी क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरिएको थियो।क्याम्पस प्रमुख कुशवाहा मोटरसाईकल चलाई खजुरियाबाट कलैयातर्फ आउने क्रममा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा टोलस्थित ग्रावेल सडक खण्डमा पुग्दा अपरचित व्यक्तिहरुको समूहले उनको गोली हानी हत्या गरेका थिए ।
गोली लागेर गम्भीर घाइते उनलाई तुरुन्तै बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । त्यसबेला उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
कुशवाहाले जग्गा सम्बन्धी विवादमा कुशवाहाको गोली हानी हत्या गरेको बताइएको छ । क्याम्पस प्रमुख कुशवाहाको हत्यामा सुरेन्द्र सहित १७ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका कुशवाहालाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।