काभ्रे । काभ्रेको पाँचखालमा विभत्स अवस्थामा एक युवकको शव फेला परेको छ । पाँचखाल नगरपालिका– ४ जिरोकिलो नजिकै एक युवकको शव रुखमा बाँधेर जलाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
युवकको शरिरका विभिन्न भागमा फलामको तारले रुखमा कसिएको र त्यसलाई आगो लगाइएको अवस्थामा शव फेला परेको काभ्रे प्रहरीले जनाएको छ । ‘शव सडिसकेको अवस्थामा फेला परेको छ । शवको मुख, छाती र खुट्टामा तारले बाँधेको अवस्था छ र उनको शरिरमा आगो लगाएको पाइएको छ ।’, काभ्रे प्रहरी प्रमुख डीएसपी राजकुमार श्रेष्ठले बताए ।
प्रहरीका अनुसार शवको प्रकृति हेर्दा उक्त घटना करिब १५/२० दिनअघि नै घटेको देखिन्छ । ‘बिराजे खोल्सा भन्ने एउटा जंगलको खोंच छ । त्यहाँ ती युवकको हत्या गरि जलाइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । थप विवरण संकलन गर्दै छौँ ।’, डीएसपी श्रेष्ठले भने ।
करिब २५ वर्षको उमेर समूहका जस्ता देखिने ती युवकको शव फेला परेको खबर आउनासाथ प्रहरीको टोली त्यसतर्फ खटिएको काभ्रे प्रहरीले जनाएको छ । त्यस्तै घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोली घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ ।