काठमाडाैँ । नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन माग गरेको छ । बिहिबार केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी छानबिन समिति गठन गर्न र दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेर जनताको पैसा खाएको बताउँदै खतिवडाले भने, ‘सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनराशी दुरुपयोग गरेर आर्थिक तथा वित्तीय अपराध गरेका दुखद घटना सार्वजनिक भइरहेका छन्’, उनले थपे, ‘सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको समेत नाम आइसकेको छ । हामी समग्र समस्या समाधानका लागि छानविन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्छौँ ।’
त्यस्तै उनले आगामी वर्खामा हुनसक्ने क्षतिको आँकलन गरी सरकारलाई पूर्वतयारी गर्न पनि माग गरेका छन्।