धार्मिक सद्भावमा खलल पुर्याएको भन्दै संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको छ ।
काठमाडौँ स्थाई ठेगाना भएका ध्रुवराज लुइँटेलले किराँतीविरुद्ध जाहेरी दर्ता गराएका हुन् । उनले हुलाकमार्फत जाहेरी पठाएका हुन् ।
जाहेरीमा उनले मन्त्री किराँतीले क्रिश्चियन धर्मको प्रचारक शैलीमा ‘क्रिश्चियन मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेलमा हालिने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएको र उक्त अभिव्यक्तिले सामाजिक र धार्मिक सद्भाव खल्बलाएको उल्लेख गरेका छन् ।
उनले मन्त्री पर्यटन तथा संस्कृति मन्त्री भई गैरजवाफदेही व्यवहार गरेको भन्दै मन्त्रीलाई पक्राउ गरी मुलुक अपराध संहिताअनुसार ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउनसमेत माग गरेका छन् ।