काठमाडौँ । नुवाकोट जिल्लाको पञ्चकन्यामा वि.स.२०२० सालमा बाबु माइते तामाङ र आमा श्रीमाया तामाङको कोखबाट जन्मिएका हितबहादुर तामाङ यस क्षेत्रको प्रभावशाली नेता हुन् ।
मध्यम वर्गमा खेती किसानी गरिरहेका परिवारमा जन्मएका उनी नुवाकोट कै अमर ज्योति उच्च मावि खरानीटारमा आफ्नो औपचारिक शिक्षा सुरुवात गरेका थिए । १६ वर्षको उमेरमा कम्युनिष्ट राजनीतिमा लागेका उनी ९ कक्षामा हुदैँ गर्दा २०३८ सालमा नुवाकोटको जिल्ला समिति सचिव पदको जिम्मेवारी सम्हालेका थिए । २०३९ सालमा एस.एल.सी. उतिर्ण गरेका उनी विद्यार्थी राजनीतिबाट फड्को मार्दै २०४७ सालमा पार्टी सदस्य बनेका थिए । २०४८ सालमा जिल्ला उपाध्यक्ष, २०४९ जनवादी युवा लिगको केन्द्रीय सदस्य, २०५१ सालमा संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य भएका थिए ।
२०५२ सालमा तत्कालिन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेपछि जनयुद्धको सुरुवातमै तत्कालिन नेकपा माओवादीमा आवद्ध भएर भूमिगत भएका थिए । भूमिगत रहँदा २०५३ सालमा क्षेत्रिय ब्यूरो सदस्य तथा नुवाकोट र रसुवा संयुक्त जिल्ला इन्चार्ज, २०५९ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य भएका थिए । जनयुद्धमा लागेको ७ वर्षपछि भारत सरकारले देशद्रोहीको अभियोग लगाएर २०५९ जेठ २० गते गिरफ्तार गरेर नेपाल सरकारलाई जिम्मा लगाएको थियो । त्यसपछि उनी केन्द्रीय कारागारमा २५ महिना बन्दी बनेका थिए ।
नेकपा माओवादी शान्ति प्रक्रियामा आएपश्चात रिहा भएँंगै माओवादीको केन्द्रीय सदस्य हुँदै बामपन्थी आन्दोलन तथा जातीय हकहितको आन्दोलनका अगुवा रहेका उनी नेकपा माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक समेत हुन् । नेता तमाङ तत्कालिन नुवाकोट क्षेत्र नं. २ बाट २०६३ को संविधान सभा पहिलो निर्वाचनमा र २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा समेत झिनो मतले पराजित भएका थिए ।
झलनाथ खनाल प्रधानमन्त्री भएको बेला २०६६ सालमा सरकारको युवा तथा खेलकुदमन्त्री बनेका तामाङले राजनीतिक यात्रामा विभिन्न उत्तरचढाव भोगेका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व अर्थमन्त्री राम शरण महतलाई पराजित गर्दै नेता तामाङ २०७० मंसिरमा सम्पन्न निर्वाचनमा नुवाकोट क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । यसैगरी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट १ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतलाई ८ हजार ५ सय ५३ मतले पराजित गरेका थिए । बि.स. २०७५ सालदेखि केन्द्रीय सदस्य बनेका उनी नुवाकोट क्षेत्र नं. १ बाटै नेकपा एमालेका उम्मेदवार बद्री मैनालीलाई तीन हजार ११२ मतान्तरले हितबहादुर तामाङ विजयी भएका थिए ।
उनै हितबहादुर तमाङ ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सोमबार मन्त्री भएर पद तथा गोपनियताको शपथ लिएका छन् । माओवादीमा इमान्दार भएर पनि कम अवसर पाएका नेताको रुपमा उनको चर्चा हुने गरेको छ । उनले कुन मन्त्रालय पाउँछन भन्ने चाहीँ अझै टुंगो लाग्न बाँकी छ ।